विपद् प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने बागमती सरकारको निर्णय

तु खबर संवाददाता
२०८१ आश्विन १३, आईतवार १०:५५
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौंडा । तस्बिरः तु खबर ।

मकवानपुर । बागमती प्रदेश सरकारले विपद् प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रदेश सरकारको शनिबार साँझ बसेको आकस्मिक बैठकले बाढी–पहिरो, डुबानलगायत विपद्मा परेका नागरिकलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने निर्णय गरेकोे बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले जानकारी दिए ।

बैठकले प्रदेश सरकारका निकायबाट क्षतिको विवरण तत्कालै एकिन गरी सो पश्चात प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि, २०८० बमोजिम प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने निर्णय गरेको हो ।

साथै विपद्बाट प्रभावित नागरिकहरूलाई थप सहयोगका लागि नेपाल सरकार समक्ष अनुरोध गर्ने समेत बैठकले निर्णय गरेको मुख्यमन्त्री लामाले बताए ।

उनका अनुसार, बैठकले अविरल वर्षाका कारण भएको क्षतिका सम्बन्धमा खोज, उद्दार र राहतलाई थप प्रभावकारी बनाउन जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समिति तथा सुरक्षा निकायहरूसँग समन्वय र सहकार्य गर्ने, प्रदेश सरकारका सम्बन्धित मन्त्रालय र निकायहरूले आआफ्नो विषय क्षेत्रसँग सम्बन्धित क्षतिको विवरण तत्काल संकलन गर्ने निर्णय गरिएको छ ।

विपदबाट घाइते व्यक्तिहरूको शिघ्र उपचारका लागि चिकित्सकिय टोली तथा आवश्यक औषधि तथा उपकरणहरूको व्यवस्थापन प्रदेशको स्वास्थ्य मन्त्रालयले गर्ने व्यवस्था गर्ने, तत्काल नागरिक आवागमन सहज बनाउन अवरूद्ध सडकहरूको मर्मत तथा व्यवस्थापनका लागि प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले कार्य प्रारम्भ गर्ने निर्णय गरेको उनको भनाई छ ।