बागमती प्रदेश सरकारद्वारा पलेशालाई नगदसहित सम्मान
मकवानपुर । बागमती प्रदेश सरकारले पेरिस पारा ओलम्पिकमा कास्य पदक दिलाएकी पलेशा गोवर्धनलाई नगदसहित सम्मान गरेको छ ।
संविधान दिवसको अवसरमा बिहीबार प्रदेशको राजधानी हेटौंडामा आयोजित एक कार्यक्रमबीच पलेसालाई नगद १० लाख रुपैयाँसहित सम्मान गरिएको हो ।
यस्तै, सो अवसरमा १९ औं एसियाली खेलकुद प्रतियोगिता अन्तरगत करातेमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी एरिका गुरुङलाई पनि नगद ५ लाख रुपैयाँसहित सम्मान गरिएको छ ।
प्रदेश सरकारले पलेशाका प्रशिक्षक कविराज नेगीलाई २ लाख र नेपाल तेक्वान्दो संघ बागमती प्रदेश समितिलाई १ लाख रुपैयाँ प्रदान गरेको छ ।
त्यस्तै, एरिकाका प्रशिक्षक कुशल श्रेष्ठलाई १ लाख र नेपाल कराते महासंघ बागमती प्रदेश समितिलाई १ लाख रुपैयाँ प्रदान गरिएको छ ।
सम्मानित खेलाडी तथा प्रशिक्षक र संघका अध्यक्ष एवम् प्रतिनिधिहरुलाई मुख्यमन्त्री बहादुर सिं लामा र युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले संयुक्त रुपमा सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले समग्र खेलकुद क्षेत्रको विकास र खेलाडीको हितलाई ध्यानमा राखेर प्रदेश सरकारले महत्वका साथ काम गर्दै आइरहेको बताउँदै आगामी दिनमा अझै प्रभावकारी ढंगबाट अघि बढ्ने दृढता व्यक्त गरे ।
उनले खेल क्षेत्रको विकासका लागि युवा तथा खेलकुद मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्सँग सहकार्य गर्दै अगाडि बढ्ने उल्लेख गरे ।
त्यस्तै, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले खेल क्षेत्र तथा खेलाडीहरुले नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको भन्दै प्रसंशा गरे ।
उनले युवा तथा खेलकुद मन्त्रालय खेल क्षेत्रको विकास र खेलमार्फत् प्रदेश र राष्ट्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने वातावरण बनाउन केन्द्रीत रहेको बताए ।
कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले, आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले खेलकुदको विकासमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । सो अवसरमा प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामालगायत खेलसम्वद्ध विभिन्न संघ संस्थाका नेतृत्व तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
एरिका र कुशलसहित नेपाली कराते टोली अहिले एसियाली च्याम्पियनसिप खेल्न चीन पुगेका छन् ।