हेटौंडामा संविधान दिवस मनाइयो

तु खबर संवाददाता
२०८१ आश्विन ३, बिहीबार १२:३७

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा संविधान दिवस एवम् राष्ट्रिय दिवस २०८१ मनाईँएको छ । बिहीबार बागमती प्रदेश सरकारको आयोजनामा विविध कार्यक्रम गरी नवौं संविधान दिवस मनाईँएको हो ।

बागमती प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको परिसरमा भएको कार्यक्रममा बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।

सो अवसरमा प्रदेश प्रमुख देवकोटाले उक्त दिवसको शुभकामना दिँदै संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील शक्तिहरुले उच्चतम समझदारी बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रदेश प्रमुख देवकोटाले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै संविधान जारी भएको भन्दै भावी पुस्ताले आजको दिनलाई ऐतिहासिक उत्सवको रुपमा मनाउनुपर्ने उल्लेख गरे ।

यस्तै, कार्यक्रममा मुख्यमन्त्री बहादुर सिं लामाले संविधानको मर्म अनुसार कार्यसम्पादन गर्नुपर्ने बताए । उनले राष्ट्रलाई सामाजिक न्यायसहित आर्थिक समृद्धिको दिशामा अघि बढाउने दायित्व आफुहरुको भएको भन्दै प्रदेश सरकार क्रियाशील रहेको स्पष्ट पारे ।

कार्यक्रममा पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका विभिन्न मन्त्रालयका मन्त्री तथा सचिवहरु, कर्मचारीहरु, सुरक्षा निकायका अधिकारीहरु, राजनीतिक दलका प्रतिनिधि व्यक्तित्वहरुलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा संविधान दिवस, मूल समारोह समिति तथा बागमती प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रालय, प्रदेश खेलकुद विकास परिषद्ले संयुक्त रूपमा आयोजना गरेका खेलकुद प्रतियोगिताको विजेता र उपविजेता समूहलाई पुरस्कारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रदेशको सामाजिक विकास मन्त्रालयले ‘संविधान कार्यान्वयनका ९ वर्ष उपलब्धि र चूनौती’ विषयमा आयोजना गरेको क्याम्पसस्तरीय निबन्ध लेखन प्रतियोगिताको प्रथम, द्धितिय, तृतीय र सान्त्वनालाई क्रमशः नगदसहित प्रमाणपत्र वितरण गरिएको थियो ।

यस्तै, सो क्रममा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने काठमाडौं उपत्यकाका १३ र चितवन जिल्लाका २ जना गरी १५ जना विद्यार्थीलाई नगदसहित पुरस्कार प्रदान गरिएको थियो । उनीहरुलाई प्रदेश प्रमुख देवकोटा, मुख्यमन्त्री लामा र पूर्व मुख्यमन्त्री पौडेलले पुरस्कार हस्तान्तरण गरेका थिए ।

यसअघि आजै प्रभातफेरी कार्यक्रमको पनि आयोजना गरिएको थियो । प्रदेश सरकारको आयोजनामा बिहान भुटनदेवी उच्च माविको प्राङ्गनबाट सिमाचोक, बुद्धचोक हुँदै बजारको विभिन्न चोकहरुको परिक्रममा गरी मन्त्रिपरिषद् कार्यालय पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

प्रभातफेरीमा सुरक्षा निकाय तथा सामाजिक संघ–संस्थाहरुले ब्यान्डबाजा, पञ्चेबाजासहित विभिन्न जातीय तथा सांस्कृतिक झाँकी प्रस्तुती गरेका थिए ।

संविधान दिवस मूल समारोह समितिद्वारा चार दिने कार्यक्रम अन्तरगत आज र भोलि बेलुकाको समयमा विभिन्न सरकारी कार्यालय, गैर सरकारी कार्यालय एवम् सर्वसाधारण नागरिकहरुले आ–आफ्नो घरमा दिपावली गरी मनाउन आह्वान गरिएको छ ।