बागमतीलाई खेलकुदमैत्री प्रदेश बनाउन सरकार प्रतिबद्ध छः मुख्यमन्त्री लामा
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेशलाई खेलकुदमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगिताको मंगलबार प्रदेशको राजधानी हेटौंडामा उद्घाटन गर्दै मन्त्री लामाले यस्तो बताएका हुन् । उनले खेलकुद क्षेत्र सरकारको प्राथमिकतामा रहेको उल्लेख गरे ।
मुख्यमन्त्री लामाले खेलकुद राष्ट्रको गहना मात्र नभई यसले राष्ट्रको पहिचानसमेत स्थापित गराउने काम गर्ने बताए । उनले बागमती प्रदेशलाई खेलकुदको दृष्टिकोणले अग्रणी प्रदेश बनाउन प्रदेश सरकार प्रयत्नशील रहेको भन्दै खेलकुद सरकारको प्राथमिकतामा बताए ।
युवालाई खेलकुदमा सहभागी गराउँदा कुलतबाट जोगाउन सकिने भएकाले खेलकुदलाई अझ प्रभावकारी बनाउनुपर्ने उनको भनाई छ ।
प्रतियोगिता संविधान दिवस, मूल समारोह समिति तथा बागमती प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रालय, प्रदेश खेलकुद विकास परिषद्ले संयुक्त रूपमा आयोजना गरेको हो ।
असोज १ गतेदेखि ४ गतेसम्म विविध कार्यक्रम गरी संविधान दिवस मनाउने प्रदेशस्तरीय मूल समारोह समितिको निर्णयानुसार उक्त प्रतियोगिताको आयोजना गरिएको आयोजक प्रदेश खेलकुद विकास परिषद्का तालिम, प्रतियोगिता तथा खेलुकद शाखा प्रमुख दुर्गाप्रसाद दुलालले जानकारी दिए ।
उनका अनुसार, मैत्रीपूर्ण भलिबल प्रतियोगितामा मुख्यन्त्री कार्यालय, विभिन्न स्थानीय तह, नेपाल पत्रकार महासंघलगायत १३ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिता भोलिसम्म संचालन हुनेछ । प्रतियोगिताको विजेता र उपविजेतालाई यही असोज ३ गते संविधान दिवसका दिन हुने मूल समारोहमा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
