बागमतीकी उद्योगमन्त्री तामाङद्वारा दाना उद्योगको निरीक्षण

तु खबर संवाददाता
२०८१ आश्विन १, मंगलवार १६:४०

मकवानपुर । बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्री शुकमाया तामाङले दाना उद्योगको निरीक्षण गरेकी छन् । मन्त्री तामाङले मंगलबार एक कार्यक्रमबीच चितनवको भरतपुर महानगरपालिका–६ स्थित उद्योगमै पुगेर अवलोकण गरेका हुन् ।

सो क्रममा उनले उद्योगलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले आफू सँधै उधमीहरुको पक्षमा रहेर काम गर्ने बताउँदै दाना उद्योगको लागि आवश्यक बजेट बिनियोजन गर्ने जानकारी दिइन् ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले दाना उद्योग संचालन गर्नका निमित्त दाना परीक्षण गर्न ल्याब र दाना राख्न गोदाम घरको आवश्यक रहेको बताउँदै त्यसको लागि सहयोग गर्न आग्रह गरे ।

२०७८ सालदेखि करिब ५३ लाख लगानीमा संघले संचालन गरेको दाना उद्योगले दैनिक ८ टन दाना उत्पादन हुने गरेको सहकारी संघका बगालेले जानकारी दिए । उनका अनुसार, संघले वार्षिक ७ करोडको कारोबार हुने गरेको छ ।

११४ वटा सहकारी आबद्ध रहेको उक्त संघले चितवनका एक सय सहकारीमा दाना उपलब्ध गराउने गरेको संघका व्यबस्थापक जनार्दन पौडेलले बताए ।