कांग्रेसद्वारा स्थानीय तह निर्वाचनको समिक्षा मकवानपुरबाट सुरु
मकवानपुर । नेपाली कांग्रेसले २०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनको समिक्षा आजबाट सुरु गरेको छ ।
कांग्रेस स्थानीय तह केन्द्रीय समन्वय विभागको आयोजनामा आज मकवानपुरमा २८ महिनापछि निर्वाचनको समिक्षा सुरु भएको हो ।
विभाग गठनमा भएको ढिलाईका कारण २०७९ वैशाखमा सम्पन्न निर्वाचनको समीक्षा २०८१ भदौ अन्तिमबाट सुरु भएको हो ।
पार्टीले स्थानीय तह केन्द्रीय समन्वय विभाग गठन गरेपछि विभागले आफ्नो पहिलो कार्यक्रम आज बागमती प्रदेशको राजधानी हेटौंडाबाट सुरु गरेको हो ।
कार्यक्रममा स्थानीय तहका प्रमुख तथा उपप्रमुख, वडा अध्यक्ष तथा सदस्यहरु एवम् स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भएकाहरु सहभागी छन् । कार्यक्रममा स्थानीय तह निर्वाचनको समिक्षा र आगामी योजनाबारे छलफल भएको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई मजबुद बनाउँदै समग्र जनताको हितमा काम गर्नका लागि जनप्रतिनिधिहरुलाई आग्रह गरे । उनले समग्र राजनीतिक विषयमा चर्चा गर्दै जनप्रतिनिधि र आम जनताबीच कसरीे सम्बन्ध प्रगाढ बनाउन सकिन्छ भन्ने विषयमा चर्चासमेत गरे ।
त्यसैगरी कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस राष्ट्रियता, समाजवाद र लोकतन्त्रको पक्षधर भएको भन्दै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले जनताको घर दैलोमा पुगेर जनताको सेवा गर्दै समस्या समाधानका लागि काम गर्न आग्रह गरे । उनले जनहितको सवालमा आफुले जुनसुकै अवस्थामा सहयोग गर्न तयार रहेको पनि बताए ।
नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको सभाध्यक्षतामा कार्यक्रम भएको हो । विभागका प्रमुख एवम् कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यलगायतको टोलीले जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिएका हुन् ।

