पाँच संसदीय समितिको बैठक आह्वान

तु खबर संवाददाता
२०८१ भाद्र १९, बुधबार ०९:०९
file-photo

काठमाडौं । संघीय संसद्अन्तर्गत आज बस्ने गरी पाँच संसदीय समितिको बैठक आह्वान गरेको छ ।

आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्ने गरी आह्वान गरिएको हो ।

जसनुसार, शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्दैछ । सो बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची संसद् सचिवालयले जनाएको छ ।

यस्तै, संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । सो बैठकमा विभिन्न देशका लागि प्रस्तावित नेपाली राजदूतहरूको सुनुवाइ हुनेछ ।

यस्तै, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारमा नै बस्ने गरी बोलाइएको छ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल हुने जनाइएको छ ।

यसैगरी, विधायन व्यवस्थापन समितिको दिउँसो २ बजे सिंहदरबारमा बस्ने गरी आह्वान गरेको छ । बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि विज्ञसँग छलफल गर्ने सूची रहेको छ ।

त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो २ बजे बस्नेछ । सिंहदरबारमा बस्ने उक्त बैठकमा समितिको आर्थिक वर्ष २०८०–८१ को पाँचौँ वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ ।