आज तीन संसदीय समितिको बैठक बस्ने

तु खबर संवाददाता
२०८१ भाद्र १८, मंगलवार ०९:३१
file-photo

काठमाडौं । आज एकैदिन तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्ने भएको हो ।

जसअनुसार अर्थ समितिको बैठक बिहान १० बजे बस्नेछ । सो बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

यस्तै, बिहान १० बजे नै बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक पनि बस्नेछ । बैठकमा परराष्ट्र मन्त्री डा आरजु राणा देउवाबाट हालै सम्पन्न भारत भ्रमण सम्बन्धमा र राजदूत नियुक्ति सम्बन्धमा छलफल हुनेछ ।

यसैगरी, आज बिहान ११ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठक बस्नेछ । बैठकमा विभिन्न देशका लागि प्रस्तावित नेपाली राजदूतहरूको सुनुवाइ हुने जनाइएको छ ।