हस्तकलाग्राम विधेयकमा उद्यमीहरुका विषय समेट्न सरोकारवालालाई सुझाब

तु खबर संवाददाता
२०८१ भाद्र १४, शुक्रबार ०९:४०

मकवानपुर । प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका विषयमा सरोकारवालाहरुलाई विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने व्यक्तिहरुले सुझाब दिएका छन् ।

उक्त विधेयकका सम्बन्धमा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा जनपत्र मिडिया प्रा.लिद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेशको उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति र सांसदहरुलाई विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने व्यक्तिहरुले उद्यमीहरुका विषय समेट्न सुझाब दिएका हुन् ।

कार्यक्रममा उद्योगी, व्यवसायी, मानव अधिकारकर्मी, हस्तकला व्यवसायी, घरेलु तथा साना उद्योगमा आवद्ध व्यवसायी तथा मजदुर, सहकारीका सञ्चालक, लुघु उद्यमीहरु, मकवानपुर उद्योग बाणिज्य संघका प्रतिनिधि, स्थानीय तहका प्रतिनिधि लगायतकाले आ–आफ्ना सुझाबहरु दिएका थिए ।

यस्तै, कार्यक्रमका प्रमुख अतिथि एवम् उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले यस विधेयकलाई व्यवस्थित बनाएर संसदमा पेश गर्ने बताए ।

यसैगरी, बागमती प्रदेश सभाका सदस्य तथा उद्योग पर्यटन तथा वातावरण समितिका सदस्य भारती पाठकले विधेयकमाथि छलफल गर्न कै लागि सरोकारवालहरुसँगको अन्तरक्रियाको आवश्यकता महसुस भइरहेको समयमा यस कार्यक्रम अति प्रभावकारी भएको बताइन् ।

बागमती प्रदेश सभाका सदस्य तथा उद्योग पर्यटन तथा वातावरण समितिका सदस्यहरु क्रमशः ठुला थामी, बालकुमारी विश्वकर्मा, भुवन केशरी श्रेष्ठ, रुकु चौलागाँइ, धनेश्वरी प्रजापति लगायतले नागरिकका सुझावलाई समेट्ने प्रतिबद्धता गरेका थिए ।

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपध्यक्ष अनिल अग्रवाल, गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष रमिला सापकोटा, घरेलु तथा साना उद्योग महिला समिति सभापती गिता मैनाली र हिराइट्स मकवानपुरका कार्यक्रम संयोजक कुमारी वाईबा, हस्तकला महासंघ मकवानपुरका अध्यक्ष रमेशराज बज्रचार्यलगायतले सुझाब दिएका थिए ।