लोकतान्त्रिक व्यवसायी संघ बागमतीको प्रथम अधिवेशन हेटौंडामा
मकवानपुर । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक व्यवसायी संघ बागमती प्रदेशको प्रथम अधिवेशन हेटौंडामा भएको छ । अधिवेशन बिहीबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर २, स्थित पल्पसा होटलमा भएको हो ।
अधिवेशन लोकतान्त्रिक यातायात व्यवसायी संघका संयोजक विजय बहादुर स्वारको सभाध्यक्षता एवम् बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाको प्रमुख आतिथ्यतामा भएको हो ।
सो क्रममा बोल्दै प्रमुख अतिथि लामाले व्यवसायीहरुको समस्या समाधान गर्न प्रदेश सरकार तत्पर रहेको बताए ।
उनले व्यवसायलाई कसरी व्यवस्थित गर्ने र अगाडि बढाउने भन्नेमा आफु सँधै सकरात्मक रहेको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
मुख्यमन्त्री लामाले राज्य र व्यवसाय पक्ष मिलि समस्याहरुलाई सुधार गरेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै ऐन, कानूनमा सुधार गर्नुपर्ने बताए ।
उक्त कार्यक्रममा बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्ले, आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द लामिछाने, नेपाली काँग्रेस बागमती प्रदेश प्रमुख सचेतक गोबिन्द लम्साल, नेपाली कांग्रेसका जिल्ला सभापति बुद्ध लामा, मकवानपुर उद्योग वाणिज्य संघ जिल्ला अध्यक्ष कृष्ण कुमार गु्प्ता, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।
