क्वाँटी किन खाने ?

तु खबर संवाददाता
२०८१ भाद्र ३, सोमबार ०८:०५

मकवानपुर । आज जनै पूर्णिमाका दिन विशेष खानाको रुपमा क्वाँटी खाने प्रचलन छ । विशेषगरी नेवार समुदायबाट सुरु भएको र हाल नेपालका अधिकांश स्थानमा सबै जनजातिले क्वाँटी र यसको झोल खाने प्रचलन छ ।

वास्तवमा नेवारी भाषामा क्वाँ भनेको तातो र टी भनेको सुप हो । त्यसकारण क्वाँटी भनेको विभिन्न गेडागुडीहरूको मिश्रणबाट पकाएर बनाएको स्वादिलो र तात्तातो सुप हो भन्ने बुझिन्छ ।

क्वाँटी विभिन्न गेडागुडीहरूको मिश्रण हो र यसमा खासगरी नौ किसिमका गेडागुडीहरूको सम्मिश्रण पाइन्छ । नेपाली समुदायमा खेतबारीमा काम गर्ने समयमा, मौसम परिवर्तन हुने समयमा र जाडो यामको सुरुवात हुने समय आउनै लाग्दा जनैपूर्णिमा पर्व पर्छ र त्यतिबेला विभिन्न गेडागुडीहरूको रस खाने प्रचलन रहेको हो ।

शरीरलाई बलियो बनाउन, कमजोर शारीरिक क्षमता भएको अवस्थामा, रुघाखोकी जस्ता रोगहरु लाग्नबाट बचाउन वा शरीरको रोग विरुद्ध लड्ने क्षमता बढाउन जानेर वा नजानेरै क्वाँटी जस्ता विभिन्न पौष्टिक तत्वहरू खाने प्रचलन चलिआएको हो ।

यस्ता छन् क्वाँटीका फाइदा :

– कब्जियतको समस्या हटाउँछ । क्वाँटी रेसादार खानाको स्रोत हो ।

– मधुमेह तथा पायल्स भएका मानिसलाई समेत फाइदा गर्छ । तर मधुमेह भएकाले चिकित्सक तथा डाइटिसियनसँग भने एक पटक सल्लाह लिन आवश्यक छ ।

– यसले बूढो हुने गति मन्द पार्नुको साथै मानिसलाई सुन्दर स्वस्थ र रोगमुक्त पार्दछ ।

– तुरुन्त प्रयोग हुन सक्ने शरीरलाई चाहिने शक्तिको स्रोत दिन्छ ।

– यो सजिलै पाच्य हुन्छ।

– पेटमा अनावश्यक वायु बनाउँदैन ।

– क्वाँटीमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई तथा खनिज पदार्थ प्रशस्त मात्रामा हुन्छ । यसले शरीरको थकाइ कम गर्छ र तनावबाट मुक्त गराउँछ ।

– रोग प्रतिरोधात्मक शक्ति बढाउँछ ।

– रोगी, बालबालिका तथा वृद्धमा हुने कुपोषण हटाउन सकिन्छ।

– क्वाँटीको नियमित सेवनले स्मरण शक्ति पनि बढ्छ ।

– मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ।

– रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ।

– टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ । त्यसैले, क्वाँटी खानाले ‘एसिडिटी’ तथा मूत्रनलीमा सङ्क्रमणजस्ता समस्याबाट पनि छुट्कारा मिल्छ ।

– पाचनशक्तिमा सुधार ल्याउँछ ।