बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त

तु खबर संवाददाता
२०८१ भाद्र २, आईतवार १३:२६
मुख्य न्यायाधिवक्ता र प्रदेश प्रमुख ।

मकवानपुर । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त भएका छन् ।

बागमती प्रदेश, दोलखा जिल्ला तामाकोशी गाउँपालिका वडा नम्वर ३ निवासी काफ्लेलाई आइतबार प्रदेश प्रमुख माननीय दीपक प्रसाद देवकोटाले बामगती प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा १६० उपधारा (२) बमोजिम प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको सिफारिसमा काफ्लेलाई मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी प्रकाश चापागाईंले बताए ।

२५ वर्षदेखि निरन्तर कानून व्यवसायीको रुपमा कार्य गर्दै आएका काफ्लेले यसअघि पूर्व कानून तथा न्यायमन्त्री भीम बहादुर तामाङ र पूर्व महिला तथा समाज कल्याणमन्त्री लिला कोइरालाको सल्लाहकार भएर समेत काम गरिसकेका छन् ।

नेपाल बार एसोसिएसनको सदस्य रहेका काफ्ले नेपाल बार एशोसिएसन र काठमाडौं जिल्ला बारका विभिन्न समितिमा संलग्न भई काम गरिसकेका छन् ।