उद्योग मन्त्री भण्डारीले गरे हेटौंडा सिमेन्ट उद्योग र मयुरधाप औद्योगिक क्षेत्रको अवलोकन

तु खबर संवाददाता
२०८१ भाद्र १, शनिबार १७:०५

मकवानपुर । केन्द्रीय उद्योग मन्त्री दामोदर भण्डारीले हेटौंडा सिमेन्ट उद्योग र मयुरधाप औद्योगिक क्षेत्रको अवलोकन गरेका छन् ।

मन्त्री भण्डारीले शनिबार सिमेन्ट उद्योग र औद्योगिक क्षेत्रको अवलोकन गरेका हुन् । साथै उनले आजै हेटौंडा औद्योगिक क्षेत्रमा रहेको हेटौंडा कपडा उद्योगको पनि अवलोकन गरेका छन् ।

हेटौंडा सिमेन्टको अवलोकन गर्दै मन्त्री भण्डारीले हेटौंडा सिमेन्ट उद्योगलाई दीर्घकालीन रुपमा सञ्चालन गर्न संघीय सरकारले गृहकार्य गरिरहेको बताए । उनले उद्योगकोवर्तमान अवस्था र समस्याका बारेमा संघीय सरकारलाई अवगत रहेको उल्लेख गर्दै त्यसको सामाधानको लागि संघीय सरकारले चरणबद्ध रुपमा गृहकार्य गरिरहेको बताए ।

यस्तै, उनले हेटौंडा कपडा उद्योगको पनि वर्तमान अवस्थाबारे निरीक्षण गर्दै कपडा उद्योग सञ्चालनको ‘मोडालिटि’ बारे सरकारले गृहकार्य गरिरहेको जानकारी दिए । उनले कपडा उद्योग सञ्चालनमा आउँदा एक हजार युवाले रोजगार पाउने बताए ।

हेटौंडा उपमहानगरपालिका–१४ मयुरधापमा निर्माणाधीन औद्योगिक क्षेत्रको पनि अवलोकन गर्दै मन्त्री भण्डारीले पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका कारण मयुरधाप औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण गर्न वन मन्त्रालयले अवरोध गरिरहेको उल्लेख गरे ।

मन्त्री भण्डारीले वन मन्त्रालयसँग समन्वय गरी छिट्टै मयुरधाप औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण कार्य अगाडि बढाउने बताए ।