मकवानपुरका ९१ जनामा डेंगु संक्रमण पुष्टि, कुन पालिकामा कति ?
मकवानपुर । मकवानपुरमा जिल्लाका ९१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप १२ जनामा डेंगु संक्रमण पुष्टि भएसँगै कूल संख्या ९१ पुगेको हो ।
उक्त तथ्याङ्क साउन १ गतेदेखि साउन ३२ गते शुक्रबार दिउँसोसम्मको रहेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
जनस्वास्थ्य कार्यालयका अनुसार, डेंगु संक्रमण पुष्टि हुनेमा ५२ जना महिला र ३९ जना पुरुष रहेका छन् ।
सो अवधिमा जिल्लाको हेटौंडा उपमहानगरपालिकामा २२ पुरुष र ३८ महिला गरी ६० जना, मकवानपुरगढी गाउँपालिकाका २ पुरुष र २ महिला गरी ४ जना, बागमती गाउँपालिकाका एक जना पुरुष, कैलाश गाउँपालिकाका एक पुरुष, मनहरी गाउँपालिकाका १० पुरुष र चार महिला गरी १४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
यसैगरी, भीमफेदी गाउँपालिकाका तीन जना महिला, बकैया गाउँपालिकाका तीन महिला र दुई पुरुष गरी पाँच जना, ठेगाना नखुलेको एक महिला र अन्य जिल्लाका दुई महिलामा डेंगु संक्रमण पुष्टि भएको छ ।
जिल्लामा सो अवधिमा डेंगु संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन नभएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
