उद्योग व्यवसायीको हकहितका लागि पूर्ण सहमती छु: मन्त्री तामाङ

तु खबर संवाददाता
२०८१ श्रावण २९, मंगलवार १५:४३

मकवानपुर । बागमती प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले उद्योग व्यवसायीको हकहितका लागि आफ्नो पूर्ण सहमति रहेको बताएकी छन् ।

मंगलबार उद्योग वाणिज्य संघ मकवानपुरले बुझाएको ज्ञापन–पत्र बुझ्दै मन्त्री तामाङले आफु सँधै व्यवसायीहरुको पक्षमा रहेको बताएकी हुन् । मन्त्री तामाङले व्यवसायीलाई मर्कामा पर्ने खालका कुनै पनि काम नगर्ने समेत प्रतिवद्धता जनाइन् ।

‘व्यवसायीहरुको हकहितका लागि मेरो सँधै समर्थन रहन्छ । व्यवसायीहरुको समस्यालाई समाधान गर्न संघसँग समन्वय गरेर सहजीकरण गर्नेछु ।’ मन्त्री तामाङले भनिन्, ‘व्यवसायीहरुले व्योहोर्नु परेका झन्झ्टिलो प्रणालीलाई पनि एकद्वार प्रणालीबाट लैजान मेरो प्रयास रहन्छ ।’
मन्त्री तामाङले व्यवसायीहरुलाई ढाँड सेक्नेगरी कर वृद्धि नगर्न समेत स्थानीय तहलाई समेत आग्रह गरिन् ।

व्यवसायी, उद्यमी चरम मारमा रहेका बेला हेटौंडा उपमहानगरपालिकाले अस्वभाविक रुपमा राजश्वको दर वृद्धि गरेको भन्दै व्यवसायीहरू आन्दोलित छन् । संघको अगुवाईमा मकवानपुरका व्यवसायीले आन्दोलनको घोषणा समेत गरेका छन् । संघले नगर सरकार खोज्दै मैनबत्ति जुलुस, कार्यालयमा धर्नादेखि व्यवसाय नै बन्द गरेर चाँबी बुझाउनेसम्मको आन्दोलनका कार्यक्रम तय गरेको छ ।

असार ७ मा भएको उपमहानगरको १५ औं नगर सभाबाट राजस्व दरमा वृद्धि गर्ने निर्णय भएको थियो । उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१–०८२ को लागि घरबहाल करदेखि व्यवसाय करमा २० देखि १५० प्रतिशतसम्म राजश्व वृद्धि गरेको हो । व्यवसायीहरुले उपमहानगरपालिको उक्त निर्णयविरुद्ध यसअघि नै ध्यानाकर्षण गराएका थिए ।

उद्योग वाणिज्य महासंघ मकवानपुरका अध्यक्ष कृष्ण गुप्ता अग्रवालको नेतृत्वमा ज्ञापन–पत्र बुझाएको कार्यक्रममा निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बाल गोपाल कँडेल, होटल एशोसिएसन मकवानपुरका अध्यक्ष दिलिश गोविन्द जोशी र उद्योग वाणिज्य महासंघ मकवानपुरका उपाध्यक्ष उज्वल चौलागाईं लगायतको उपस्थिती रहेको थियो ।