प्रधानमन्त्री पदबाट राजीनामा दिएर हसिनाले बंगलादेश छाडिन्
काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छिन् ।
राजधानी ढाकामा जारी तनावबीच उनी राजीनामा दिएर भारततर्फ गएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ ।
उनी हेलिकप्टरमार्फत् भारतको त्रिपुरा राज्यको अगरतलातिर गएको बीबीसीले उल्लेख गरेको छ ।
प्रदर्शनका क्रममा हजारौं नागरिक प्रधानमन्त्रीको निवासतर्फ गएपछि उनी ‘सुरक्षित स्थान’तर्फ सरेकी थिइन् ।
बंगलादेशी सेनाका प्रमुख जनरल वाकर जमानले सबै राजनीतिक दलका नेताहरुसँग अहिलेको अवस्थाबारे छलफल गर्दैछन् । त्यसपछि सेना प्रमुखले अपराह्न राष्ट्रलाई सम्बोधन गर्ने तयारी समेत छ ।
आरक्षण र कोटा प्रणालीको विरोधमा विद्यार्थीले गरेको आन्दोलन हिंसात्मक बन्दा ज्यान गुमाउनेको संख्या कम्तीमा ३ सय पुगिसकेको छ ।
प्रधानमन्त्री हसिनाले सुरक्षा निकायका प्रमुखहरुसँग छलफलपछि आइतबार हसिनाले आन्दोलनकारीहरु ‘विद्यार्थी नभई देशमा अस्थिरता चाहने आतंकवादी भएको’ बताएको प्रतिक्रिया दिएकी थिइन् ।
