बागमतीः सडकमा प्राकृतिक अवरोध भएमा समन्वय गर्न प्रतिकार्य टोली गठन

तु खबर संवाददाता
२०८१ श्रावण १६,बुधबार १९:०२

मकवानपुर । बागमती प्रदेशमा प्राकृतिक विपत्तिबाट प्रादेशिक सडकमा हुने गरेको आपतकालीन अवरोधका बेला समन्वय गर्न प्रतिकार्य टोली गठन गरिएको छ ।

बाढी, पहिरो लगायत विपद्को विभिन्न घटनाका कारण प्रादेशिक सडकमा हुने आपतकालीन अवरोधका समयमा न्युनतम सूचना प्रवाह र आवश्यक समन्वय गर्ने उद्देश्यले पाँच सदस्यीय टोली गठन गरिएको हो ।

टोलीको सदस्यहरुमा क्रमशः भौतिक पूर्वाधार विकास मन्त्रालयका सडक, सडक पुल तथा अन्य पूर्वाधार महाशाखाका सुजन भण्डारी, मन्त्रालयका फोकल पर्सन ज्यानेन्द्रप्रसाद पुन, यातायात पूर्वाधार निर्देशनालयका अधिकृत हरिप्रसाद ओझा र पूर्वाधार विकास कार्यालयका कार्यालय प्रमुखहरु रहेका छन् ।

उनीहरुलाई भौतिक पूर्वाधार तथा विकास मन्त्री अमनकुमार मास्केले बुधबार एक कार्यक्रमबीच कार्यजिम्मेवारी प्रदान गरेका छन् । उक्त टोलीका संयोजक र सदस्यहरुलाई सांकेतिक रुपमा सुरक्षा टोपी हस्तान्तरण गर्दै मन्त्री मास्केले टोलीको औचित्यतालाई पुष्टी गर्नेगरी काम गर्न निर्देशन दिए ।

द्रुत प्रतिकार्य टोलीले अवरुद्ध भएका प्रादेशिक सडकहरुको पहिचान गर्ने कार्यलाई निरन्तरता दिनुका साथै बैकल्पिक मार्गको पहिचान गर्ने, सूचना सम्प्रेषण गर्ने जस्ता कार्य गर्नेगर्दछ ।