बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुद्वारा पदभार ग्रहण
मकवानपुर । बागमती प्रदेशका ६ मन्त्रीहरुले आज आ–आफ्नो मन्त्रालयमा गएर पदभार ग्रहण गरेका छन् ।
मौजुदा मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित १४ सदस्य रहेका छन् । तीमध्ये कांग्रेसबाट मन्त्री बनेका ६ जनाले आज पदभार ग्रहण गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ ।
सो कार्यालयका अनुसार, कांग्रेस बाटै मन्त्री बनेका मधुकुमार श्रेष्ठकोे भने जिम्मेवारी तोकिएको छैन । नेकपा एमालेबाट मन्त्री बनेका मन्त्रीहरुले भने यसअघि नै पदभार ग्रहण गरिसकेका छन् ।
शनिबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री बहादुर सिं लामाको सिफारिसमा थप चार जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गरएका थिए । प्रदेश प्रमुख शर्माले कांग्रेसबाट मन्त्री बनेका बिमल ठकुरी, हरि प्रभा खड्की श्रेष्ठ, मीन कृष्ण महर्जन र श्याम खड्कालाई शपथ खुवाएका हुन् ।
प्रदेश प्रमुख शर्माले बुधबार नियुक्त भएका ३ र बिहीबार नियुक्त भएका ४ जना गरी कांग्रेसका ७ मन्त्रीको जिम्मेवारी तोकिएका छन् ।
प्रदेश प्रमुख शर्माले लामिछानेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, महर्जनलाई युवा तथा खेलकुद मन्त्रालय, खड्गीलाई सामाजिक विकास मन्त्रालय र ठकुरीलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मा दिएका छन् ।
यस्तै, कुन्दनराज काफ्लेलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र श्यामबहादुर खड्कालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मा दिइएको छ ।
एमालेबाट मन्त्री बनेका ६ जनाले यसअघि नै शपथ र पदभार गरिसकेका छन् ।
