बागमतीमा १४ मन्त्री नियुक्त, चार मन्त्रीद्वारा शपथ ग्रहण
मकवानपुर । बागमती प्रदेश सरकारको मन्त्रीमण्डल संख्या बढाइएको छ । प्रदेशको १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त गरिएको हो ।
प्रदेशका ४ मन्त्रीले शनिबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री बहादुर सिं लामाले नियुक्त गरेका ४ मन्त्रीलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ खुवाएका थिए ।
शपथ ग्रहण गर्नेहरुमा कांग्रेसका सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन, हरिप्रभा खड्गी र विमल ठकुरी रहेका छन् । उनीहरूको शपथ पछि मन्त्रालयको कार्यभार समेत तोकिएको छ ।
बुधवार नियुक्त भएका ३ र बिहीबार नियुक्त भएका ४ जना गरी कांग्रेसका ७ मन्त्रीको जिम्मेवारी तोकिएको हो ।
प्रदेश प्रमुख शर्माले लामिछानेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, महर्जनलाई युवा तथा खेलकुद मन्त्रालय, खड्गीलाई सामाजिक विकास मन्त्रालय र ठकुरीलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मा दिएका छन् ।
बुधवार नियुक्त भएका कुन्दनराज काफ्लेलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, श्यामबहादुर खड्कालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मा दिइएको छ । मदुकुमार श्रेष्ठको भने जिम्मेवारी पछि तोकिने जनाइएको छ ।
एमालेको तर्फबाट मन्त्री बनेको ६ जनाको भने बुधबार नै मन्त्रालयको जिम्मेवारी तोकिसकेको छ ।
