बागमती प्रदेशः कुन मन्त्रालयको जिम्मा कसलाई ?
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले १० सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मुख्यमन्त्री लामाले बुधबार पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्रिपरिषद् गठन गरेका हुन् ।
मुख्यमन्त्री लामाको सिफारिस बमोजिम प्रदेश प्रमुख यादव चन्द्र शर्माले कार्य विभाजन ताकेको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोबिन्द प्रसाद पौडेलले जानकारी दिए ।
जसअनुसार, कृषि तथा पशुपंक्षी मन्त्रालयको जिम्मा प्रकाश श्रेष्ठ (एमाले), वन तथा वातावरण मन्त्रालयको जिम्मा किशोर सिलवाल (एमाले), स्वास्थ्य मन्त्रालयको जिम्मा किरण थापा (एमाले) लाई दिइएको छ ।
यसैगरी, भौतिक योजना तथा पूर्वाधार मन्त्रालयको जिम्मा अमन मास्के (एमाले), उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मा शुकमाया तामाङ (एमाले) र श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मा प्रेमभक्त महर्जन (एमाले) दिइएको छ ।
यस्तै, कांग्रेसबाट मन्त्री बनेका कुन्दन राज काफ्ले, श्याम खड्का र मधु श्रेष्ठलाई विना विभागीय जिम्मेवारी तोकिएको प्रवक्ता पौडेलले बताए ।
१३ वटा मन्त्रालयको रहेको बागमतीमा अन्य तीन मन्त्रीको नाम भने टुंग्याउन बाँकी छ । एमालेको भागमा ६ र कांग्रेसले मुख्यमन्त्रीसहित ७ वटा मन्त्रालय भागमा परेको थियो ।
