बागमतीमा मन्त्रालयको भागबण्डा टुंगियो, कस्को भागमा कुन ?

तु खबर संवाददाता
२०८१ श्रावण ८, मंगलवार ०९:१९

मकवानपुर । बागमती प्रदेशमा नयाँ सरकार गठनको लागि मन्त्रालयको भागबण्डा टुंगिएको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालय भागबण्डा टुंगिएको हो । जसअनुसार मुख्यमन्त्रीसहित ७ मन्त्रालय कांग्रेसले र ६ वटा मन्त्रालय एमालेले पाउने भएका छन् ।

कांग्रेसले मुख्यमन्त्रीसँगै आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय पाएको कांग्रेस बागमतीका सचेतक गोविन्द प्रसाद लम्सालले बताए ।

यसैगरी, एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय पाएको छ ।

यसअघि सोमबार मन्त्रालय भागबण्डा नमिल्दा र एमाले भित्र मन्त्री छनौटको आन्तरिक समस्याले मुख्यमन्त्रीमा कांग्रेसका बहादुर सिं लामाको दावी पेश गर्ने पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको थियो ।

लामाले नेकपा एमालेको समर्थनमा आज बिहान ११ बजे मुख्यमन्त्री पदको लागि दाबी पेश गर्नेछन् । लामाले एमालेका २७ र कांग्रेसका ३७ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्न लागेको सचेतक लम्सालले बताए ।

त्यसअघि कांग्रेस र एमालेले आफ्नो भागमा परेको मन्त्रालयको मन्त्रीको नाम टुंगो लगाउने जनाइएको छ ।