मुख्यमन्त्री पदमा दाबी पेश गर्दै लामा, आजै नियुक्ती हुने
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामाले आज मुख्यमन्त्री पदको लागि दाबी पेश गर्ने भएका छन् ।
लामाले नेकपा एमालेको समर्थनमा मंगलबार बिहान ११ बजे मुख्यमन्त्री पदको दाबी पेश गर्ने भएका हुन् ।
यसअघि सोमबार मुख्यमन्त्री पदमा दाबी पेश गर्ने भनिएपनि नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया अकस्मात काठमाडौं जानुपरेकोले मुख्यमन्त्रीको दाबी पेश गर्ने समय एक दिन पछि सरेको कांग्रेस संसदीय दलका सचेतक गोविन्द प्रसाद लम्सालले जानकारी दिए ।
एमालेबाट सरकारमा सहभागी पाँच मन्त्रीले गत असार २४ गते सामूहिक राजिनामा दिएपछि अल्पमतमा परेका बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साउन ६ गते आइतबार पदबाट राजीनामा दिएका थिए ।
जम्कट्टेलको राजीनामालाई स्वीकृत प्रदान गरेसँगै प्रदेश प्रमुख यादव चन्द्र शर्माले आइतबार नै साउन ८ गते ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) बमोजिम सरकारमा दाबी पेस गर्न आह्वान गरेका थिए ।
लामाले एमालेका २७ र कांग्रेसका ३७ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरेका छन् ।
उनलाई प्रदेश प्रमुख शर्माले आजै मुख्यमन्त्री पदमा नियुक्ती गर्ने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।
