लामाले मुख्यमन्त्री पदका लागि दाबी पेश भोलि मात्रै गर्ने
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामाले भोलि मंगलबार मात्रै मुख्यमन्त्री पदको दाबी पेश गर्ने भएका छन् । यसअघि सोमबार मुख्यमन्त्री पदमा दाबी पेश गर्ने भनिएपनि विशेष कारणवस समय सरेको कांग्रेस संसदीय दलका सचेतक गोविन्द प्रसाद लम्सालले जानकारी दिए ।
केन्द्रिय समीकरण अनुसार, कांग्रेसको भागमा परेको बागमती प्रदेशमा लामाले नेकपा एमालेको समर्थनमा सोमबार बिहान सवा १० बजे मुख्यमन्त्री पदको दाबी पेश गर्ने तयारी गरेका थिए । तर, नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया अकस्मात काठमाडौं जानुपरेकोले मुख्यमन्त्रीको दाबी पेश गर्ने समय सरेको सचेतक लम्सालले बताए ।
एमालेबाट सरकारमा सहभागी पाँच मन्त्रीले गत असार २४ गते सामूहिक राजिनामा दिएपछि अल्पमतमा परेका बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार पदबाट राजीनामा दिएका थिए ।
जम्कट्टेलको राजीनामालाई स्वीकृत प्रदान गरेसँगै प्रदेश प्रमुख यादव चन्द्र शर्माले आइतबार नै साउन ८ गते ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) बमोजिम सरकारमा दाबी पेस गर्न आह्वान गरेका थिए ।
लामालाई नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनाउन संसदीय दलले आइतबार सर्वसम्मत निर्णय गरेको थियो । लामाले एमालेका २७ र कांग्रेसका ३७ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरेका छन् ।
