प्रधानमन्त्री नियुक्ति र शपथविरुद्ध सर्वोच्चमा रिट दर्ता

तु खबर संवाददाता
२०८१ असार ३१, सोमबार १५:०२
file-photo

काठमाडौं । प्रधानमन्त्रीको नियुक्ति र शपथविरुद्ध सर्वोच्च अदालतमा सोमबार रिट दर्ता भएको छ ।

संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त र शपथविरुद्ध खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

उनीहरुले संविधानको धारा ७६(२) अनुसारको प्रधानमन्त्री नियुक्ति बदर गर्दै ३ अनुसार नयाँ नियुक्ति गर्न माग गरेका छन् ।

दायर गरिएको उक्त रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संसद् सचिवालय र प्रतिनिधिसभालाई विपक्षी बनाएको अधिवक्ता यज्ञमणि न्यौपानेले बताए ।

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पदमुक्त भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए ।

नवनियुक्त प्रधानमन्त्री ओलीले  पद तथा गोपनीयताको शपथ पनि ग्रहण गरि आजै २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।