प्रकाशमान सिंहले सरकारमा कांग्रेसको नेतृत्व गर्ने, गृहमन्त्रीमा रमेश लेखक

काठमाडौँ । सरकारमा नेपाली कांग्रेसको तर्फबाट जाने मन्त्रीहरुको नाम अन्तिम टुंगो लगाउने छलफल जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै सपथ र मन्त्रिमण्डल विस्तार गर्ने भएपछि कांग्रेसभित्र सरकारमा को जाने भन्ने विषय पेचिलो बनेको छ ।
कांग्रेसकै विश्वासीलो स्रोतका अनुसार पूर्व महामन्त्री प्रकाशमान सिंहले सरकारमा कांग्रेसको नेतृत्व गर्नेछन् । उनको मन्त्रालय भने टुंगो लागेको छैन । उनले उपप्रधानमन्त्रीसहित एउटा मन्त्रालयको नेतृत्व गर्नेछन् ।
कांग्रेसबाट रमेश लेखक गृहमन्त्री हुनेछन् । आरजु देउवा राणा परराष्ट्रमन्त्री हुनेछन् । अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हुनेछन् ।
दिपक खड्का, ऐनबहादुर शाही, किशोर सिंह राठोर र दिपक गिरीको नाम छलफलमा छ । दिपक खड्का र गिरीमध्ये एक तथा ऐनबहादुर शाही र किशोर सिंह राठोरमध्ये एक मन्त्री हुने देखिएको छ ।
मन्त्रीमा तेजुलाल चौधरीको पनि नाम टुंगो लागेको छ । उनले स्वास्थ्य तथा जनसंख्यामा दाबी गरेका छन्, तर अहिलेसम्म उनको मन्त्रालय टुंगिएको छैन ।
शेखर–गगन समूहले तेजुलाल बाहेक थप चार मन्त्री आफूहरुले पाउनुपर्ने दाबी गरेको छ । चार मन्त्री पाएको अवस्थामा सहमहामन्त्री जीवन परियार र सांसदहरु प्रदीप पौडेल, हृदयराम थानी र रामनाथ अधिकारीलाई पठाउने तयारी गरेको थियो ।
तर सभापति देउवाले ३ तीन मात्र दिनसक्ने भनेका छन् । अब ककसलाई पठाउने भनेर टुंगो लगाउने शेखर कोइरालाले उपसभापति धनराज गुरुङ र महामन्त्री थापासँग परामर्श गर्दैछन् ।