प्रधानमन्त्री बन्दै केपी ओली, शपथ आइतबार हुने
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भएका छन् । अध्यक्ष ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीमा नियुक्त गर्ने भएका हुन् ।
शीतल निवास स्रोतका अनुसार, आइतबार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेर सोही दिन शपथ गराइने भएको छ ।
शुक्रबार राति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित राष्ट्रपति कार्यालय शीतल निवास पुगेर ओलीले नयाँ सरकार गठनका लागि दाबी पेश गरेका थिए ।
ओलीले नेपाली कांग्रेसका ८८ र एमालेका ७७ गरी कुल १६५ सांसदको समर्थनमा दाबी पेश गरेका हुन् ।
शुक्रबार प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पदमुक्त भएपछि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि आइतबार साँझ सम्मको समयसीमा दिएका थिए ।
प्रचण्डको विश्वासको मत लिने प्रस्ताव प्रतिनिधि सभाको बहुमतले अस्वीकृत गरेसँगै उनी स्वतः पदमुक्त भएका थिए । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए ।
२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ । तर, प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत मात्र खसेको थियो भने विपक्षमा १९४ मत खसेको थियो ।
त्यस्तै, मत दिन्न भन्ने पक्षमा १ मत परेको थियो । प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा २५८ जना सांसदको उपस्थिति थियो ।
