नयाँ सरकार गठनबारे संविधानविदहरुकै फरक मत

तु खबर संवाददाता
२०८१ असार २९,शुक्रबार १७:३८

काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको लागि संविधानविदहरुसँग छलफल गरिरहेका छन् । तर, नयाँ सरकार गठनको विषयमा संविधानविदहरुकै फरक मत रहेको छ ।

एकथरीले संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठन हुने मत राख्दै आएका छन् । अर्काथरी धारा ७६ (३) बमोजिम गठन हुने दाबी गरिरहेका छन् ।

यदि संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठन भए नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्नेछ । त्यसका लागि कांग्रेस र एमालेले सहमति गरिसकेका छन् ।

तर, धारा ७६ (३) बमोजिम गठन हुने अवस्थामा संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।

राष्ट्रपति पौडेलले संविधानविदहरु डा. भीमार्जुन आचार्य, विपिन अधिकारी, हरिहर दाहाल, शम्भु थापा, गोपालकृष्ण घिमिरेलगायतलाई छलफलका लागि बोलाएका छन् । उनीहरुसँग बेलुकी पौने ६ बजे राष्ट्रपति भवनमा नयाँ सरकार गठनको प्रक्रियाबारे औपचारिक छलफल सुरु हुने जनाइएको छ ।