सहकारी ठगी र पासपोर्ट प्रकरणमा रविमाथि छानविन हुनुपर्छः ढकाल

तु खबर संवाददाता
२०८१ असार २७,बुधबार १७:२६

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीबाट बर्खास्त भएका मुकुल ढकालले सहकारी ठगी र पासपोर्ट प्रकरणबारे रवि लामिछानेको छानबिन गर्न माग गरेका छन् ।

पार्टीले कारबाही गरेको भोलिपल्ट बुधबार पत्रकार सम्मेलन गर्दै ढकालले रविमाथि थुप्रै प्रश्न उठाएका छन् ।

उनले १९ गतेको बैठकमा मुखमा कालो टेप लगाएर बस्नु आफ्नो कमजोरी भएको हुनसक्ने भएता पनि त्यसपछि सभापति लामिछानेले बैठक स्थगित गरेर आफूसँग संवाद गर्नुका सट्टा आफुबाट टाढा भागेको बताए ।

सभापति लामिछानेप्रति निकै असन्तुष्ट देखिएका उनले सहकारी ठगी प्रकरणमा छानबिन गर्नुपर्नेमा जोड दिए । पछिल्लो पटक सर्वोच्च अदालतले नै लामिछानेमाथि अनुसन्धान गर्नुपर्छ भनिसकेको भन्दै उनले भने, ‘यसमा रास्वपाको धारणा के छ ? पार्टीले स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्छ ।’

त्यस्तो समितिमा बस्नेहरु लामिछानेले नभई राजदूत छनोट जस्तै प्रक्रियाबाट ल्याउनुपर्ने उनको माग छ ।