आईसीसी टी–२० विश्वकपः नेपाल बंगलादेशसँग पराजित

तु खबर संवाददाता
२०८१ असार ३, सोमबार ०९:५३

अमेरिका । आईसीसी टी २० विश्वकप २०२४ मा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ । यससँगै नेपाल २०२४ को टि २० विश्वकपबाट बाहिरिएको छ । १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनाउन सफल भयो । बंगलादेश भने यो जितसँगै ४ खेलमा ६ अंकका साथ समूह डी बाट दोस्रो स्थानमा रहँदै सुपर ८ मा पुगेको छ ।

नेपालका कुशल मल्लले ४० बलमा १ चौका र १ छक्कासहित २७ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ३१ बलमा २ चौका र १ छक्कासहित २५ रनमा आउट भए । बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसनले नेपालको शीर्षक्रम धरासयी पारेका थिए ।

ओपनर आसिफ शेखले १४ बलमा ४ चौकासहित १७, कुशल भुर्तेल ४, अनिल साह शून्य, रोहित पौडेल र सन्दीप जोरा १–१ रनमा आउट भए । एक समय नेपाल ७ ओभरमा २६–५ को अवस्थामा पुगेको थियो । दीपेन्द्र र कुशल मल्लले छैटौं विकेटका लागि ५८ बलमा ५२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

नेपाललाई अन्तिम १२ बलमा जितको लागि २२ रन चाहिँएको थियो । १९ औं ओभरमा मुश्ताफिजुर रहमानले दीपेन्द्रलाई आउट गर्दै मेडन ओभर राखेपछि जितको सम्भावना सकिएको थियो । गुलशन झा, सोमपाल कामी र अभिनाश बोहरा शून्यमा आउट भए ।

बंगलादेशका तान्जिम हसनले ४ ओभरमा १ मेडनसहित ७ रन खर्चेर ४ विकेट लिए । मुश्ताफिजुर रहमानले ४ ओभरमा ७ रन खर्चेर ३ विकेट लिए । सकिब अल हसनले २ र तस्किन अहमदले १ विकेट लिए ।

त्यसअघि सेन्ट भिन्सेन्टमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेश १९.२ ओभरमा १०६ रनमा अल आउट भएको थियो । नेपालको बलिङ सामु बंगलादेशका कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । बंगलादेशका सकिब अल हसनले २२ बलमा २ चौकासहित सर्वाधिक १७ रन बनाए । रिशाद हसनले ७ बलमा १ चौका र १ छक्कासहित १३ रन जोडे ।
ओपनर तान्जिद हसन शून्य, लिटन दास १०, नाज्मुल हसन सान्टो ४, तोव्हीद ह्रिदोय ९, महमुदूल्लाह रियाद १३, जाकेर अली १२ र तान्जिम हसन सकिबले ३ रन बनाए ।नेपालका दीपेन्द्रसिंह ऐरीले ३.२ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए ।
रोहित पौडेलले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ३ ओभरमा १० रन खर्चेर २ विकेट लिए । बंगलादेश ४ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा रहँदै सुपर ८ मा पुगेको छ । नेपाल ४ खेलमा १ अंकका साथ चौथो स्थानमा रहेर बाहिरिएको छ ।