बागमती प्रदेश सभा बैठक आज पनि बस्दै

तु खबर संवाददाता
२०८१ जेष्ठ १७, बिहीबार ०९:२९

मकवानपुर । बागमती प्रदेश सभा बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान १० बजे प्रदेश सभा सचिवालयमा बस्ने गरी बोलाइएको हो ।

बैठकमा बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । उक्त नीति तथा कार्यक्रममाथि बुधबारबाट छलफल प्रारम्भ भएको हो ।

जेठ १४ गते प्रदेश प्रमुख यादवचन्द्र शर्माले सरकारको तर्फबाट सार्वजनिकरण गरेको उक्त नीति तथा कार्यक्रममाथिको छलफलमा सत्तापक्ष, प्रमुख प्रतिपक्ष र प्रतिपक्ष दलका प्रदेश सभा सदस्यहरुले आ–आफ्नो धारणा, सुझाव र सल्लाह दिएका थिए ।

आजको बैठकमा पनि सोही छलफललाई निरन्तरता दिने प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभा सचिवालयका अनुसार, आज बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जवाफ दिने कार्यसूची पनि रहेको छ ।

नीति तथा कार्यक्रममाथिको छलफलमा प्रदेश सभाका सदस्यहरुले उठाएका प्रश्नको मुख्यमन्त्रीले जवाफ दिने जनाइएको छ ।