निर्वाचन क्षेत्र सम्बन्धी योजना थप गर्नुपर्ने सांसदहरुको माग

मकवानपुर । बागमती प्रदेश सभाका सांसदहरुले निर्वाचन क्षेत्र सम्बन्धी योजनाहरु थप गर्नुपर्ने माग गरेका छन् । बिहीबार बसेको प्रदेश सभा बैठकमा निर्वाचन क्षेत्र केन्द्रीत विशेष समयामा बोल्दै प्रदेश सभाका सदस्यहरुले आ–आफ्नो निर्वाचन क्षेत्रमा तत्काल नै बाढीपीडित परिवारलाई पुर्नबसोवास गर्नुपर्ने र भौतिक पूर्वाधार विकासको संरचनाका लागि प्रदेश सरकारले तत्काल बजेट विनियोजि गर्नुपर्नेमा जोड दिएका हुन् ।
सत्तापक्ष र प्रतिपक्ष दलका सदस्यहरुले आ–आफ्नो निर्वाचन क्षेत्रको लागि आत्यावश्यक योजनाहरुमा क्रमशः खानेपानी, सडक निर्माण, बाढीपहिरोबाट पीडित भएको परिवारलाई पुर्नबसोबास गर्न र तत्काल विपद् आइपर्नुभन्दा अगाडि प्रदेश सरकार पूर्ण तयारीका साथ रहनुपर्ने माग गरेका छन् ।
उनीहरुले जनताको चाहाना असिमित रहेको भन्दै प्रदेश सरकारको बजेट अत्यन्तै कम भएको हुँदा ती क्षेत्रको योजनालाई पुनः समिक्षा गरेर क्रमशः बजेट वृद्धि गर्दै लैजान सरकारसँग आग्रह गरेका छन् ।
ती क्षेत्रमा पर्ने टुक्रिय योजनाहरुलाई १० देखि २० लाख रुपैयाँसम्म छुट्याइएको र ती योजनाले त्यहाँको आवश्यकतालाई पूरा गर्न सकिने हुँदा ती क्षेत्रमा नागरिकहरु प्रदेश सरकारप्रति आन्दोलित हुने गरेको बताउँदै त्यसतर्फ सरकार गम्भीर हुनुपर्ने उनीहरुको भनाई छ ।
यसैगरी, प्रत्येक निर्वाचन क्षेत्रमा खानेपानीको साथै स्वास्थ्य उपचारलाई उच्च प्राथमिकता दिनुपर्ने र शिक्षालाई गुणात्मकस्तर वृद्धि गर्न प्र्रत्येक वडाहरुमा मावि, निमावि र प्रावि विद्यालयमा शिक्षक दरबन्दी र विज्ञान शिक्षक उपलब्ध गराउनेतर्फ उनीहरुले जोड दिए ।
यसैगरी, बैठकमा बोल्दै प्रदेश सभाका सदस्यहरुले पछिल्लो समयमा प्रदेशको विभिन्न जिल्लामा जंगली जनावरको आक्रमणबाट मानव जीवनका साथै बस्तीमा ठूलो जनधनको क्षति भएकोमा दुःख व्यक्त गरे । साथै उनीहरुले पीडित परिवारलाई प्रत्यक्ष राहात उपलब्ध गराउनेतर्फ सरकारले छुट्टै एउटा कार्यदल बनाउनुपर्ने र त्यसलाई आगामी वर्षहरुमा क्रमशः बजेट उपलब्ध गराउनेतर्फ पहल गर्नुपर्ने बताए ।
निर्वाचन क्षेत्रमा रहेका विभिन्न वडाहरुमा बाढीबाट घर डुवान हुने, समस्या बढ्दै गएकोले ती क्षेत्रका जनतालाई सुरक्षित रुपमा बसोबास गराउनेतर्फ प्रदेश सरकारले स्थानीय निकायमार्फत् स्थानीय बस्तीहरुमा बाढीलाई नियन्त्रण गर्ने नहर र तटबन्धन निर्माण गर्नेतफ दीर्घकालिन योजना बनाउनुपर्ने उनीहरुको सुझाव थियो ।
प्रदेशका विभिन्न जिल्लाको गाउँबस्ती नजिक जंगलहरुमा डढेलोको प्रकोप फैलिरहेकोले त्यहाँ एतिहाँसिक सम्पदा, मानव बस्तीमामा हुने गरेको भन्दै उनीहरुले अब प्रदेश सरकारले दीर्घकालिन रुपमा डढेलो नियन्त्रण गर्ने वैज्ञानिक प्रकृया अवलम्बन गरेर नियन्त्रण गर्ने प्रयासमा लाग्नुपर्ने र त्यसलाई कार्यान्वयन गर्नुपर्ने बताए ।
उक्त बैठकमा ३१ जना प्रदेश सभाका सदस्यहरुले आ–आफ्नो निर्वाचन क्षेत्रको समस्याबारे जानकारी गराएका थिए ।
प्रदेश सभाको अर्को बैठक यही माघ २६ गते दिनको २ बजे बस्ने गरी उपसभामुख अप्सरा चापागाईँ आजको बैठक स्थगित गरेकी थिइन् ।
बागमती प्रदेश सभाको पान्ध्रौं अधिवेशन बैठक यही माघ १८ गतेबाट सुरु भएको हो ।