करको दर धेरै हुँदा मुद्रण उद्योग धरासायी भएको व्यवसायीको गुनासो

तु खबर संवाददाता
२०८१ जेष्ठ १६, बुधबार १०:४१

सरकारको औद्योगिक तथा भन्सार नीतिको चरम मारमा आफूहरु परेको गुनासो मुद्रण व्यवसायीले गरेका छन् ।

नेपाल मुद्रण उद्योग महासंघको मंगलबारबाट हेटौंडामा सुरु भएको केन्द्रीय समितिको वैठक अगाडि पत्रकार सम्मेलन गर्दै व्यवसायीहरुले मुद्रणसँग सम्बन्धित कागज तथा कच्चा पदार्थमा करिब २८ प्रतिशत कर लाग्ने गरेको बताएका हुन् ।

‘कागज तथा कच्चा पदार्थमा भन्सार महसुल १५ प्रतिशत र भ्याट १३ प्रतिशत गरी २८ प्रतिशत कर लाग्ने सरकारको व्यवस्थाले स्वदेशी मुद्रण उद्योगलाई धरासायी बन्दै गइरहेका छन् ।’, महासंघ केन्द्रीय अध्यक्ष विष्णु तिवारीले सरकारको गलत नीतिका कारण चार हजार मुद्रण व्यवसायी र करिब ९० हजार कामदारलाई समस्या परिरहेको औंल्याए ।

व्यवसायीले विदेशमा मुद्रण गरी नेपालभित्र आयात गरिने पुस्तक, औद्योगिक लेवल तथा प्याकेजिङ सामग्रीहरुमा कर छुट तथा न्यून कर लिँदा स्वदेशी उद्योग मारमा परेको बताए । ‘स्वदेशी मुद्रण उद्योगलाई धेरै कर लगाउँदा विदेशीसँग प्रतिस्पर्धा गर्न नसकेर हाम्रा उद्योगहरु धरासयी बन्न थालेका छन् ।’, तिवारीले भने ।

पछिल्लो दश महिनाको तथ्यांक अनुसार चार अर्ब ८ करोड रुपैयाँ छपाईंजन्य सामग्री विदेशबाट आयातहुँदा ४ करोड ३८ लाख रुपैयाँ बराबरको निर्यात भएको उनीहरुको दावी छ । व्यवसायीले आज सार्वजनिक हुने बजेटमा सम्बोधन गर्न सरकारलाई ११ बुँदे ध्यानाकर्षण पत्र समेत बुझाएको बताए ।

वैठकमा सहभागी हुन देशभरबाट ७० जना व्यवसायी हेटौंडामा उपस्थित भएका छन् ।

पत्रकार सम्मेलनमा मकवानपुर मुद्रण उद्योग संघका अध्यक्ष राजु नेपाललगायत मुद्रण उद्योग महासंघका विभिन्न जिम्मेवारीमा रहेकाहरुको उपस्थिति रहेको थियो ।