आज गणतन्त्र दिवस

तु खबर संवाददाता
२०८१ जेष्ठ १५,मंगलवार ०८:३९

काठमाडौँ । विभिन्न कार्यक्रम आयोजना गरेर देशैभर गणतन्त्र दिवस मनाइँदैछ ।

जननिर्वाचित पहिलो संविधान सभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाइँदै आएको छ ।

सरकारले आज सार्वजनिक बिदा दिएको छ भने सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना हुँदैछ । त्यस्तै ७ वटै प्रदेश सरकारले पनि औपचारिक कार्यक्रमको आयोजना गरेका छन् । जिल्लास्तरका विभिन्न संघसंस्था तथा विद्यालयहरुले गणतन्त्र दिवसको अवसरमा प्लेकार्डसहितको र्याली निकालेका छन् ।

यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित र विशिष्ट व्यक्तित्वहरु, राजनीतिक दलका नेताहरुले शुभकामना सन्देश जारी गरेका छन् ।

यस वर्ष जेठ १४, १५ र १६ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरुमा दीपावलीलगायत कार्यक्रमहरू गरेर गणतन्त्र दिवस मनाउने निर्णय सरकारले गरेको छ ।

संविधान सभाले डा. रामवरण यादवलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति घोषणा गरेको थियो । विद्यादेवी भण्डारी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति एवम् देशमा नयाँ संविधान जारी भएपछिको पहिलो महिला राष्ट्राध्यक्ष बनिन् । हाल तेस्रो राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेल छन् । त्यसभन्दा अगाडि नेपालमा राजतन्त्र थियो र राजा नै राष्ट्र प्रमुख हुन्थे ।