प्रतिनिधि सभाको बैठक जेठ १ गतेसम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधि सभाको बैठक आगामी जेठ १ गतेसम्मका लागि स्थगित भएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले जेठ १ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ ।
आजको बैठकमा पनि नेपाली कांग्रेसले समिति नबनाइएको भन्दै अवरोध गरेको हो ।
आज २ बजे बस्ने गरी बोलाइएको प्रतिनिधि सभाको बैठक निर्धारित समयभन्दा २ घण्टा ढिला बैठक सुरु भएको थियो । बैठक सुरु भएलगतै कांग्रेसले अवरोध गरेपछि १५ मिनेटको लागि स्थगित गरेको थियो ।
स्थगित गरिएको बैठक करिब डेढ घण्टापछि बसेको थियो । दोस्रो बैठक सुरु भएलगत्तै सभामुख देवराज घिमिरेले गृहमन्त्री लामिछानेलाई बोल्न समय दिएका थिए ।
त्यसलगत्तै कांग्रेस सांसदहरू उठेर नाराबाजी सुरु गरेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।
