नवगठित प्रतिनिधिसभाको पहिलो अधिवेशन आजदेखि सुरु

तु खबर संवाददाता
२०८२ चैत्र १९, बिहीबार १०:३५

काठमाडौं । नवगठित प्रतिनिधिसभाको पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ। सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय सभाकक्षमा आज दिउँसो २ बजे बैठक आह्वान गरिएको छ।गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि संसद्को पहिलो अधिवेशन सुरु हुन लागेको हो। राष्ट्रपति रामचन्द्र पौडेलले चैत १६ गते मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका थिए।

बैठकको सुरुमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र तथा प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी विवरण पढेर सुनाउने कार्यसूची छ। साथै, उहाँले प्रतिनिधिसभाले नयाँ नियमावली नबनाएसम्म हाल कायम रहेको प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार कार्य सञ्चालन गर्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ।

अधिवेशन प्रारम्भका अवसरमा दलीय आधारमा शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। रास्वपाबाट सभापति रवि लामिछाने, एमालेबाट संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, नेकपाबाट संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, श्रम संस्कृति पार्टीबाट हर्क साम्पाङ र राप्रपाबाट ज्ञानबहादुर शाहीले सम्बोधन गर्नेछन्। कांग्रेसबाट बोल्ने नेताको टुंगो भने लाग्न बाँकी छ।

बैठकमा सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने, अध्यक्षमण्डल गठन गर्ने तथा जेन–जी आन्दोलनलगायतका आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्ने कार्यसूची पनि रहेको छ।यसैगरी, आजकै बैठकबाट सभामुख निर्वाचनको तालिका सार्वजनिक गरिनेछ। सर्वदलीय सहमतिअनुसार चैत २२ गते सभामुख निर्वाचन गर्ने तयारी छ। संविधानअनुसार प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने व्यवस्था छ।

संसद् सचिवालयका अनुसार बैठक सञ्चालनका लागि आवश्यक भौतिक, सुरक्षा, प्राविधिक तथा जनशक्ति व्यवस्थापनको तयारी पूरा भइसकेको छ। राष्ट्रियसभाको बैठक पनि आजैदेखि संघीय संसद् सचिवालयस्थित कक्षमा सुरु हुनेछ।निर्वाचन आयोगले चैत ५ गते अन्तिम मत परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएपछि चैत १२ गते नवनिर्वाचित सांसदहरूले शपथ लिएका थिए। २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका १८२, नेपाली कांग्रेसका ३८, एमालेका २५, नेकपाका १७, श्रम संस्कृति पार्टीका ७, राप्रपाका ५ र एक स्वतन्त्र सांसद रहेका छन्।बैठकको अन्त्यमा पूर्वसंविधानसभा तथा संसद्का दिवंगत सदस्यहरूप्रति शोक प्रस्ताव पेश गरिने कार्यसूची समेत रहेको छ।