अझै बस्न सकेन बागमती प्रदेश सभा बैठक

तु खबर संवाददाता
२०८० चैत्र १९, सोमबार १५:५९

मकवानपुर । आज दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको बागमती प्रदेश सभा बैठक अझै बस्न सकेको छैन ।

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वानसको मत लिने प्रयोजनको निम्ति आह्वान गरिएको बैठक अझै बस्न नसकेको हो ।

प्रदेश सभा सचिवालयले सूचना निकालेर बैठक अपराह्न ४ बजे बस्ने गरी सरेको जानकारी दिएको छ ।

गत फागुन २३ गते बागमती सरकारबाट बाहिरिँदै नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन् ।

अल्पमतमा परेको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सोही प्रावधान अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।

११० जना सदस्य रहेको बागमती प्रदेश सभामा ५६ मत पाएमा उनको मुख्यमन्त्री पद कायम रहन्छ । एमाले २७, माओवादी २१, एकीकृत समाजवादीका ७, हाम्रो नेपाली पार्टी (हानेपा)को २ गरी नयाँ गठबन्धनसँग ५७ मत छ ।