हेटौंडालाई कृषिमा आत्मनिर्भर बनाउँछौँः उपमेयर बानियाँ

तु खबर संवाददाता
२०८० चैत्र १५, बिहीबार १७:४६

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले कृषि क्षेत्रमा आत्मनिर्भर बन्नका लागि आफुहरु विशेष योजनाका साथ अघि बढिरहेको बताएका छन् । कृषियोग्य जमिनलाई संरक्षण गर्दै कृषकमैत्री कार्यक्रम अघि सारिएकोे उनले बताए ।

सृजनशील नेपालको आयोजनामा आज हेटौंडा १८ एक्लेखेतमा आयोजित कृषि कार्यक्रमलाई सम्बोधन गर्दै बानियाँले उपमहानगरपालिकाले कृषकहरुलाई कृषि औजार, वीउविजन, पशुचौपाय वितरण गर्ने तथा सिचाईँ लक्षित कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाएको बताए ।

उपमहानगरपालिकाले सुख्खा जमिनमा सिचाईँ गर्नको लागि चालु आर्थिक वर्षमा मात्रै विभिन्न स्थानमा १९ वटा बोरिङ् निर्माण गरिसकेको छ । उपमेयर बानियाँले आजै हेटौंडा १८ एक्लेखेतस्थित सुख्खा जमिनमा भूमिगत बोरिङको सहायताले चैते धान रोपाईँ सुभारम्भ गरेका हुन् । सो क्षेत्रमा विगत ७१ वर्षदेखि चैते धान रोपाईँ हुन सकेको थिएन ।

सो अवसरमा हेटौंडा– १८ का वडाध्यक्ष अनिलकुमार बानियाँले उक्त क्षेत्रमा वर्षायाममा मात्रै सिचाईँको सुविधा हुने गरेको भएता पनि अब भूमिगत बोरिङको सहायताले कृषकहरुले खेति गर्न सक्ने बताए ।

सृजनशील नेपालका अध्यक्ष सान्ता बरालको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य तोयानाथ तिमल्सिनालगायत स्थानीय विद्यार्थी र कृषकहरुको उपस्थिति रहेको थियो ।