हेटौंडाबाट एक युवती पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित शनिबार एक युवतीलाई हेटौंडाबाट पक्राउ गरेको छ ।
प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बसपार्कबाट लागूऔषध गाँजा ६ किलोसहित एक युवतीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चितवनको रत्तननगर नगरपालिका वडा नम्वर ३ लौरीचोक बस्ने अन्दाजी २० वर्षीया सरिता लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, शनिबार अपराह्न पौने ५ बजेको समयमा धनगढीबाट काकडभिट्टातर्फ जान आउँदै गरेको प्रदेश १–०१–००१ ख ३४११ नम्वरको यात्रुबाहक बसलार्इ रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार लामाको साथबाट सो परिमाणको गाँजा बरामद भएको हो ।
बरामद गाँजासहित उनलाई नियन्त्रणमा लिई घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।