धितोपत्र बोर्डबाट अख्तियारले ८९ कम्पनीको फाइल लियो नियन्त्रणमा

काठमाडौं । जलविद्युत् कम्पनीहरूको प्राथमिक सेयर निष्कासन (आईपीओ) का लागि धितोपत्र बोर्डले कमिसन मागेको समाचार सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोर्डबाट ८९ कम्पनीका फाइल नियन्त्रणमा लिएको छ । फाइल नियन्त्रणमा लिएसंगै यस विषयमा अनुसन्धान थालिएको छ ।
धितोपत्र बोर्ड स्रोतका अनुसार बुधबार दिउँसो धितोपत्र बोर्डमा पुगेर अख्तियारका अधिकारीले आईपीओ निष्कासनको प्रक्रियामा रहेका ८९ कम्पनीका सबै फाइल नियन्त्रणमा लिएका हुन् ।
आईपीओ निष्कासनको प्रक्रियामा रहेका कम्पनीसँग धितोपत्र बोर्डले आर्थिक चलखेल गरेको आरोपबारे समाचार सार्वनिक भएपछि अख्तियारले सबै फाइल नियन्त्रणमा लिएको बोर्ड स्रोतले जानकारी दियो ।
धितोपत्र बोर्डबाट आईपीओ जारी गर्ने प्रवद्र्धकसँग कमिसन माग भएको भनेर इप्पानका अध्यक्ष गणेश कार्कीले बताएका थिए । पहिले ३ प्रतिशत माग्ने भनेकोमा अहिले ५ देखि ७ प्रतिशतको कमिसन माग भएपछि उक्त विषय सार्वजनिक भएको हो ।
आईपीओ जारी गर्नुपर्ने धितोपत्र बोर्डबाट कमिसन माग भएको विषयमा छानबिन गर्नुपर्ने विषय संसद्मा पनि उठेको थियो । आईपीओका लागि परेका निवेदन २२ महिनादेखि बोर्डले रोकेर कमिसन माग भएको आरोप प्रबर्धकले लगाएका छन् ।