लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम

तु खबर संवाददाता
२०८२ बैशाख २५,बिहीबार ०९:११
फोटो सौजन्य : काठमाडौं उपत्यका प्रहरी कार्यालय

काठमाडौं । लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संचालित लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत बुढानिलकण्ठ नगरपालिका, नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा काठमाडौं र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र बुढानिलकण्ठको संयुक्त आयोजनामा बुढानिलकण्ठ नगरपालिकाको सभाहलमा उक्त सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीबीच लागूऔषध विरूद्ध आपसी सहयोग, समन्वय र सहकार्य सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको थियो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले प्रत्येक समाजको साझा समस्याको रूपमा देखिएको लागूऔषध दुर्व्यसनले शान्ति सुरक्षा र अमन चयनमा असर गर्नुका साथै विभिन्न आपराधिक घटना र दुर्घटनाहरू समेत वृद्धि भएको उल्लेख गर्दै यसको रोकथाम तथा नियन्त्रणको लागि प्रहरी अन्य सरोकारवाला निकाय र नागरिक समाजबीच समन्वय तथा सहकार्य गरी अगाडि बढ्नुपर्ने बताए।

कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले यस्ता सचेतनामूलक कार्यक्रमहरूले प्रहरी र नागरिकबीच घनिष्ठता बढ्नुका साथै लागूऔषध दुर्व्यसन नियन्त्रणमा प्रभावकारी भूमिका खेल्ने बताए।

बुढानिलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामाले स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रममा औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. चोपलाल भुषाल, नार्कोनन् नेपालका अध्यक्ष बसन्त राज कुवंर र नेपाल औषधी व्यवसायी संघ काठमाडौं जिल्ला शाखाका अध्यक्ष शंकर महर्जनले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लागूऔषधको परिचय, वर्गीकरण, असरहरू, लागूऔषध ओसारपसार र सेवनको तथ्याङ्क, कानूनी प्रावधान लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए ।