पाँच बैंकिङ कसुरका फरार अभियुक्त काठमाडौंबाट पक्राउ
पाँच वटा बैंकिङ कसुर मुद्दामा फरार रहेका अभियुक्त पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका–३ का ३३ वर्षीय अन्जन भट्ट रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कागेश्वरी मनोहरा नगरपालिका–७ बाट पक्राउ गरेको कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए।
प्रहरीका अनुसार भट्टविरुद्ध विभिन्न प्रहरी कार्यालयमा पाँच वटा बैंकिङ कसुरका उजुरी दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनमा ५० लाख रुपैयाँ बराबरको बैंकिङ कसुरको मुद्दा दर्ता भएपछि उनी फरार रहेका थिए।
यस्तै, जिल्ला प्रहरी परिसर ललितपुरमा १५ लाख रुपैयाँ, जिल्ला प्रहरी परिसर काठमाडौंमा एक लाख ४८ हजार रुपैयाँ, प्रहरी वृत्त बालाजुमा दुई लाख ५० हजार रुपैयाँ र प्रहरी वृत्त कालिमाटीमा एक लाख ८० हजार रुपैयाँ बराबरको बैंकिङ कसुरसम्बन्धी उजुरी दर्ता भएको प्रहरीले जनाएको छ।
