नेपाल–बेलायत द्विपक्षीय परामर्श संयन्त्रको बैठक सम्पन्न
काठमाडौं । नेपाल–संयुक्त अधिराज्य द्विपक्षीय परामर्श संयन्त्र (बिसिएम) को छैटौं बैठक सम्पन्न भएको छ । बैठक बुधबार लण्डनस्थित विदेश, राष्ट्रमण्डल र विकास कार्यालयमा सम्पन्न भएको हो ।
बैठकमा दुवै पक्षले नेपाल–बेलायत सम्बन्धको समग्र अवस्थाको समीक्षा गर्नुका साथै पारस्परिक हितका विभिन्न क्षेत्रमा संलग्नता बढाउने विषयमा छलफल भएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।
बैठकमा दुवै प्रतिनिधिमण्डलले दुई शताब्दी पुरानो मित्रता र सहयोगका बारेमा विचार आदानप्रदान गरेका थिए । साथै बैठकमा विकास सहयोग र प्राथमिकता, व्यापार, लगानी र पर्यटन, शिक्षा र मानव संशोधन विकास, कन्सुलरलगायत द्विपक्षीय सम्बन्धका प्रमुख पक्षमा भएका प्रगतिको समीक्षासमेत गरेका थिए ।
संयुक्त अधिराज्यले संयुक्त राष्ट्रसंघको शान्ति स्थापनामा हालको दोस्रो ठूलो सेना उपलब्ध गराउने राष्ट्रको रूपमा नेपालको योगदानको प्रशंसा गरेका थिए ।
भेटमा नेपालका परराष्ट्र सचिव भरतराज पौड्याल र बेलायतको राष्ट्रमण्डल विकास कार्यालयका स्थायी उपसचिव सर फिलिप बार्टनबीच मैत्री सन्धिको शतवार्षिकी मनाउने, उच्चस्तरीय भ्रमण आदानप्रदान, द्विपक्षीय सहयोगलगायत विविध विषयमा फलदायी छलफल भएको दूतावासले जनाएको छ ।
