तत्काल स्ववियु निर्वाचन गराउन १७ क्याम्पसलाई त्रिविको पत्र

तु खबर संवाददाता
२०७९ चैत्र ८,बुधबार ०९:०३
file-photo

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन १७ आंगिक क्याम्पसलाई पत्राचार गरेको छ । त्रिविले चैत्र ५ गते निर्वाचन हुन नसकेका १७ क्याम्पसमा तत्काल निर्वाचन प्रक्रिया अगाडि बढाउन पत्राचार गरेको हो ।

स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले स्ववियु निर्वाचन हुन नसकेका क्याम्पसका क्याम्पस प्रमुखलाई पत्रचार गर्दै निर्वाचनको प्रक्रिया तत्काल अघि बढाउन पत्राचार गरेका हुन् ।

निर्वाचन प्रक्रिया अगाडि बढाउन उपत्यकाका सात र उपत्यका बाहिरका १० आङ्गिक क्याम्पसका क्याम्पस प्रमुखलाई निर्देशन दिँदै विवादका कारण खोज्दै सहमति जुटाउन पनि उनले निर्देशन दिएका छन् ।

उपत्यकाका आरआर क्याम्पस, नेपाल कमर्श क्याम्पस पाटन संयुक्त क्याम्पस, अमृत साइन्स क्याम्पस, त्रिचन्द्र बहुमुखी क्याम्पस, विश्व भाषा क्याम्पस र आयुर्वेद क्याम्पसमा निर्वाचत हुन सकेको थिएन । उपत्यकाका क्याम्पस मध्ये आर आर क्याम्पसले बिद्यार्थी संगठनलाई वार्ताका लागि बोलाईसकेको छ ।

यसैगरी, उपत्यका बाहिरका पृथ्वीनारायण क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, पोखरा नर्सिङ क्याम्पस, चितवन इञ्जिनियरिङ क्याम्पस, कृषि क्याम्पस चितवन, पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पस, पोखरा वन क्याम्पस, धवलागिरी बहुमुखी क्याम्पस बागलुङ र सिद्धनाथ साइन्स बहुमुखी क्याम्पसमा निर्वाचन हुन सकेको थिएन ।

पृथ्वी नारायण क्याम्पसमा अदालतको आदेशका कारण रोकिएको भए पनि अन्य क्याम्पसमा भने सहमति हुन नसक्दा तालाबन्दीसमेत भएका थिए । सो क्याम्पसको विवाद हल गरी तत्काल निर्वाचन गराउन  विश्वविद्यालयले निर्देशन दिएको हो ।