गृहमन्त्री लामिछानेको नागरिकता मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौं । सर्वोच्च अदालतले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले लामिछानेको नागरिकताको विषयमा परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
सर्वोच्च अदालतको यो आदेशसँगै लामिछाने विरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भए पनि तत्कालका लागि उनको सांसद पद यथावत रहने भएको हो । साथै उपप्रधान र गृहमन्त्री पद समेत कायम रहनेछ ।
अमेरिकी नागरिकता लिएका लामिछानेले त्यताको नागरिकता त्यागे पनि फेरि नेपाली नागरिकता नलिएकाले उनको नागरिकता कायम नरहेको दावी सहित सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो ।
लामिछानेले अमेरिकाको नागरिकता लिनासाथ नेपाली नागरिकता खारेज भएको र उनी नेपाल फर्केपछि अमेरिकाको नागरिकता त्यागेर फेरी नेपाली नागरिकता नलिएको भन्दै सांसद पद समेत खारेज हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो ।
अदालतले यो मुद्दालाई अग्राधिकार दिँदै माघ ११ गते सुनुवाइ गर्ने भनेको छ ।
