मन्त्री पदबाट कुलमान घिसिङको राजीनामा, रास्वपा मार्फत् राजनीति अघि बढाउने
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङले आफ्नो पदबाट राजीनामा दिएका छन् । बुधबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष उनले राजीनामा बुझाएका हुन् ।
राजीनामा लगत्तै सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा घिसिङले आफ्नो निर्णयलाई नैतिकता र आत्मसम्मानको लडाइँको रूपमा व्याख्या गरे । उनले भने, ‘पदभन्दा ठूलो मूल्य र सिद्धान्त हुन्छ ।’
जेनजी आन्दोलनको बलमा गठित नागरिक सरकारमा घिसिङ गत भदौ ३० गते मन्त्री नियुक्त भएका थिए । उनलाई ऊर्जासँगै भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिइएको थियो ।
केही समयअघि मात्रै आफ्नै संरक्षकत्वमा रहेको उज्यालो नेपाल पार्टीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित गराई घिसिङ उपसभापति बनेका थिए । गैरदलीय सरकारको मन्त्री पदमा रहेर दलीय राजनीतिमा सक्रिय भएको भन्दै उनको आलोचना भइरहेको थियो ।
गत सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले मन्त्रीहरूको राजनीतिक संलग्नतालाई लिएर प्रश्न उठाएकी थिइन् ।प्रतिनिधिसभाको निर्वाचन गराउने म्यान्डेड पाएको सरकारका मन्त्रीहरु आफै दल खोलेर निर्वाचन प्रचारप्रसारमा हिड्न थालेपछि प्रधानमन्त्री कार्कीले कुलमानसहित संचारमन्त्री जगदीश खरेल र खेलकुद मन्त्री बब्लु गुप्तालाई राजीनामा दिन सुझाव दिएकी थिएन् ।
राजीनामा पछि घिसिङले आफू जिम्मेवारीबाट नभागेको स्पष्ट पारेका छन् । पछिल्लो राजनीतिक घटनाक्रमले उनी अब पूर्णकालीन राजनीतिमा सक्रिय हुने संकेत देखिएको छ । पदमा नरहे पनि देश र जनताको पक्षमा उभिनु नै आफ्नो कर्तव्य हुने उनले बताएका छन् ।
