मानवसेवा आश्रमले हेटौंडामा सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्ने
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ लामसुरेधापस्थित मानवसेवा आश्रमले साताव्यापी कार्यक्रमको आयोजना गर्ने भएको छ । आश्रमले आफ्नो वार्षिकोत्सवको अवसरमा भोलिबाट सप्ताहव्यापी कार्यक्रम गर्ने भएको हो ।
सोमबार आश्रममा पत्रकार सम्मेलन गर्दै संस्थाका अध्यक्ष रामजी अधिकारीले १० औं वर्ष पूरा गरी ११ औं वर्षमा प्रवेश गर्दै गर्दा सप्ताहव्यापी कार्यक्रम गरेर स्थापना दिवस मनाउन लागिएको जानकारी दिए । उनले सप्ताहव्यापी कार्याक्रम अनुसार, भोली ७ गते हेटौंडाको बुद्धचोकमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।
यसैगरी, ८ गते आश्रम परिषरमा वृक्षारोपण, ९ गते आश्रम रहेको धापटोलमा सरसफाई तथा तीज विशेष कार्याक्रम, १० गते सडक आश्रित मानवहरुको उद्धार कार्यक्रम, ११ गते मुठ्ठीदान संकलन कार्यक्रम, १२ गते दीप प्रज्वलन र भजन सन्ध्या तथा स्थापना दिवसको दिन वार्षिकोत्सव कार्यक्रम रहेको अधिकारीले जानकारी दिए ।
२०६९ सालमामा हेटौंडाको अब्बलडाँडाबाट सुरु भएको आश्रम हाल आफ्नै भवनमा हेटौंडा–९ स्थित मुख्य कार्यालयसहित देशको १९ जिल्लामा रहेको २३ शाखामा १६ सय बढी आश्रित रहेका छन् ।
