मानवसेवा आश्रमको आयोजनामा रक्तदान कार्यक्रम

तु खबर संवाददाता
२०७९ भाद्र ८, बुधबार ०९:५४

मकवानपुर । सहयोगापेक्षी सडक आश्रित मानिसहरुको उद्दार, संरक्षण एवम् पालनपोषण गर्दै आएको मानवसेवा आश्रमको आयोजनामा हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । आश्रमले आफ्नो १० औं वार्षिकोत्सवको साताव्यापी कार्यक्रमअन्तरगत मंगलबार पहिलो दिन रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

हेटौंडाको बुद्धचोकमा भएको उक्त कार्यक्रममा २८ जनाले रक्तदान गरेका थिए । हेटौंडाको मानवसेवा आश्रमले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय र नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखासँगको सहकार्यमा रक्तदानको आयोजना गरिएको आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बुधबार मानवसेवा आश्रम परिसरमा वृक्षरोपण, ९ गते मानवसेवा आश्रमको मुख्य कार्यालय रहेको धापटोल सरसफाई, दिउँसो आश्रममै तीज विशेष कार्यक्रमको आयोजना गरिने अधिकारीले जानकारी दिए ।

यस्तै, १० गते सहयोगापेक्षी सडक आश्रित मानवहरूको वृहत उद्दार, ११ गते मुठ्ठीदान संकलन कार्यक्रम, सोही दिन कुशेऔंशी विशेष कार्यक्रम, १२ गते दीप प्रज्वलन कार्यक्रम, बेलुका भजन सन्ध्या तथा १३ गते वार्षिकोत्सव समापन कार्यक्रम गरिने कार्यतालिका रहेको छ ।