वनकरिया समुदायका विद्यार्थीले पाए विद्यालय

गिरिजा अधिकारी
२०७९ बैशाख ५, सोमबार १९:२२

मकवानपुर । मनहरी गाउँपालिका वडा नम्वर–४ स्थित लोपोन्मुख वनकरिया समुदायका बालबालिका अध्ययन गर्ने नेपालकै एक मात्र माध्यमिक विद्यालयको रुपमा रहेको पशुपतिनाथ माविको नवनिर्मित विद्यालय भवन आज एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ । २०७२ को भूकम्पका कारण क्षतिग्रस्त विद्यालयमा नेपाल सरकारले दातृनिकाय एसियाली विकास बैंकको ऋण सहयोगमा ९ वटा कक्षाकोठा भएको भवन निर्माण गरिएको थियो ।

पशुपतिनाथ मा.वि. व्यवस्थापन समितिका अध्यक्ष माधब गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा निर्माण कम्पनीकातर्फबाट विद्यालय भवन सम्पन्न प्रमाणपत्र शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दिनानाथ गौतमलाई हस्तान्तरण गरिएको थियो भने इकाई प्रमुख गौतमले स्थानीय सरकारको रुपमा रहेको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीलाई हस्तान्तरण गरेका हुन् । पालिका अध्यक्ष उप्रेतीले पशुपति मावि व्यवस्थापन समितिका अध्यक्ष गौतमलाई साँचो र प्रमाणपत्र हस्तान्तरण गरेका हु्न् ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष उप्रेतीले पशुपतिनाथ माविले भौतिक पूर्बाधारमा राम्रो काम गरेको बताउँदै आगामी दिनमा गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गरे । इकाई प्रमुख गौतमले भूकम्प प्रतिरोधि भवन ३ करोड ८ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको बताउँदै थप १३ वटा कक्षाकोठालाई पौने २ करोड रुपैयाँ लागतमा प्रबलिकरण गर्ने कार्य जारी रहेको जानकारी दिए ।

कार्यक्रममा वडाअध्यक्ष ध्रुब खड्काले बिगतमा छाप्रोमा संचालनमा आएको विद्यालयको भौतिक संरचनामा निकै सुधार आएको र आगामी दिनमा बालबालिका निर्भयका साथ अध्ययन गर्न पाउने बताए । विद्यालयका पूर्व प्रधानाध्यापक एवम् नेपाल सरकारका सेवा निबृत्त अधिकृत तीर्थराज पराजुलीले विद्यालयको बिगतको इतिहासलाई बिर्सन नहुने कुरामा जोड दिँदै सबैले हातेमालो गरेर लक्षमा पुग्न सकिने उल्लेख गरे ।

विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्य, शिक्षक ईश्वर रिजालले बिगतमा मन्दिरको सत्तलमा कक्षा संचालन गरी स्थानीय बालबालिकालाई शिक्षा प्रदान गरेको स्मरण गर्दै विद्यालयको आगामी दिन उज्ज्वल रहने विश्वास व्यक्त गरे । विद्यालयमा करिब ५ सय बालबालिका अध्ययन गरिरहेका छन् । विद्यालयमा लोपोन्मुख वनकरिया, सिमान्तकृत चेपाङ र तामाङ् समूदायका बालबालिका अध्ययनरत छन् ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत तथा सूचना अधिकारी कृष्णप्रसाद पौडेल, मनहरी गाउँपालिकाका शिक्षा प्रमुख हरिचन्द्र सापकोटा, स्रोत शिक्षक पूर्णभद्र भुषाल, समाजसेवी भरत पराजुली, विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्षहरु चन्द्रबहादुर न्यौपाने, बालमुकुन्द ढकाल, रामहरि बिष्ट, पवन खड्का, पुर्षोत्तम बिष्ट, शिक्षक अभिभावक संघका संयोजक ऋषिराम गौतम, भवन निर्माण कार्यमा संलग्न इन्जिनियर मुकेश जैसवाल, सन्दिप बिष्टलगायतको सहभागिता रहेको थियो ।