वनकरिया विद्यार्थीहरुलाई साइकल वितरण

तु खबर संवाददाता
२०८० आश्विन २६, शुक्रबार ०८:५६

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ४ मसिनेस्थित पशुपतिनाथ माध्यमिक विद्यालयमा अध्ययनरत १५० जना विद्यार्थीहरुलाई साइकल वितरण गरिएको छ ।

वनकरिया समुदायका बालबालिका अध्ययन गर्ने नेपालको एक मात्र विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत वनकरिया विद्यार्थीहरुलाई बिहीबार एक कार्यक्रमबीच साइकल वितरण गरिएको हो ।

विद्यालयले बस संचालन गर्न नसक्ने भएपछि बसको बिकल्पमा साइकल वितरण गरेको विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले जानकारी दिए । विद्यालयले वडा नम्बर ४ को आर्थिक सहयोगमा विद्यार्थीका लागि साइकल खरिद गरेको प्रधानाध्यापक आचार्यले बताए ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधब गौतमको सभाध्यक्षता एवम् बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा मनहरी गाउँपालिकाका कार्यबाहक अध्यक्ष शिबप्रसाद खनाल, मनहरी–४ का वडाध्यक्ष प्रकाश थापा, गाउँशिक्षा प्रमुख प्रदीप पराजुली, पूर्व वडाध्यक्ष ध्रुब खड्का, विब्यस पूर्व अध्यक्ष रामहरि बिष्टलगायतको सहभागिता रहेको थियो ।

५३९ जना बालबालिका अध्ययनरत उक्त विद्यालयमा वनकरिया, दनुवार राई, चेपाङ, तामाङ, दलित समुदायका बालबालिका रहेका छन् ।