वडाध्यक्ष घलानको मेयर बन्ने कसरत
मकवानपुर । नेकपा माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य एवम् हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१२ का वडाध्यक्ष ललित घलानले हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा दावी गरेका छन् । आसन्न वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गठबन्धनको तर्फबाट आफुलाई मेयरको उम्मेदवार बनाइनुपर्ने बताउँदै टिकटको लागि केन्द्रस्तरसम्म लभिङ गरिरहेको घलानले बताए ।
तु खबरसँग कुराकानी गर्दै उनले १२ नम्वर वडाअध्यक्ष भएर गर्न बाँकी काम अब मेयर भएर गर्ने सुनाए । ‘वडाध्यक्ष हुँदा वडाको हितमा धेरै कामहरु भएका छन्, जनताको पक्षमा धेरै काम गर्न बाँकी छ, त्यसलाई पुरा गर्ने चाहाना पनि छ । एक पटक वडाध्यक्ष भइसकोले मोटामोटी जनताका समस्याहरुको पनि पहिचान गरेको छु । मलाई गठबन्धनले विश्वास गरेर उम्मेदवार बनाए निर्वाचित भई धेरै काम गर्ने चाहाना छ ।’ घलानले भने ।
उनले हेटौंडा उपमहानगरको नेतृत्व पाएको अवस्थामा नगरलाई समृद्ध बनाउने, प्रविधिको विकास गर्दै स्मार्ट सिटीको रुपमा हेटौंडालाई स्थापित गर्ने, विभिन्न क्षेत्रमा हुने गरेका भ्रष्टाचार तथा अनियमिततालाई न्यूनिकरण गर्दै लैजानुको साथै समाजको चौतर्फी विकासमा आफु डटेर लाग्ने सुनाए ।
त्यस्तै कृषि, स्वास्थ्य, शिक्षा, खानेपानीलगायतमा उपमहानगरवासीको पहुँच विस्तार गर्दै नगरलाई महानगरको रुपमा विकास गर्ने उनको योजना छ । जनतालाई सेवा प्रवाह गर्ने सन्दर्भमा कर्मचारी व्यवस्थापन, सेवाग्राहीमैत्री उपमहानगर बनाउने घलानले बताए ।
माओवादी आन्दोलनमा भूमिगत भएर काम गरेको र लामो समय जनहितका कार्यमा आफुलाई सक्रिय बनाएको कारण अधुरा कामलाई पूर्णता दिन आफुले टिकट पाउनुपर्ने घलानको भनाई छ । उनले टिकटको लागि केन्द्रस्तरसम्म पहल भइरहेको र आफ्नो विषयमा सकारात्मक प्रतिक्रिया आएको दावी गरे ।
